दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता पोखरामा

पोखरा । पोखरामा ‘‘दोश्रो राष्ट्रिय आमन्त्रित टेबुलटेनिस प्रतियोगिता–२०७५’’ बेशाखको अन्तिम साता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’’ भन्ने मूल नाराका साथ सम्पन्न हुने यस प्रतियोगितामा ११ जिल्लाका करिब ७५ जना बढि खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुको सहभागिता जनाउने आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यहि वैशाख २७, २८ र २९ गते हुने प्रतियोगितामा बुटवल, धरान, विराटनगर, काठमाण्डौ, दाङ, पोखरा, धनगढी, चितवन, भक्तपुर, ललितपुर र वाग्लुङ लगायतका खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगिता मेन्स डबल्स, मेन्स सिंगल, लेडिज डबल्स, लेडिज सिंगल र मिक्स्ड डबल्सगरी ४ विधामा खेलाईने छ । विजेताहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विभिन्न जिल्लाका प्रतिभावान खेलाडीहरुलाई एकै थलोमा भेला गराई राष्ट्रिय एकता, आपसी समझदारी, भाइचाराको अनुभूति र खेल भावनाको अभिवृद्धि गराउने, पोखरा शहरलाई खेलकुदको शहर बनाउनमा टेवा पु¥याउनमा सहयोग गर्ने, विद्यालय स्तरका खेलाडीहरुलाई प्रत्यक्ष रुपमा राष्ट्रिय खेलाडीहरुको खेल कौशल प्रदर्शन र अवलोकन गर्ने सु–अवसर प्रदान गरी भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल प्रति अभिप्रेरित गराउने लगाएतका उद्धेश्य रहेको आयोजक कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले वताए ।

अखिल नेपाल टेबुलटेनिस संघ, केन्द्रिय कार्यालय, काठमाण्डौ, जिल्ला खेलकुद विकास समिति कास्की र पोखरालेखनाथ महानगरपालिकाको विशेष सहयोग, स्टेप वाई स्टेप, ग्लोबल कलिजियट, सगरमाथा निकेतन, कास्की मोर्डनाईज्ड एकेडेमी, सृजना वोर्डिङ स्कुल, हिल प्वाइन्ट, शान्ति निकुन्ज, हिमाञ्चल, वालोदय, ग्यालेक्सी, पोखरा उच्च मावी, टप्स वोर्डिङ, लक्ष्मी आदर्श, गण्डकी एजुकेशन फाउण्डेसन लगाएत विभिन्न संघसंस्थाले सहयोग गरेका सो अवसरमा जानकारी दिईएको थियो ।

करिब तिन लाख ३५ हजार खर्च अनुमान गरिएको उक्त प्रतियोगिताको संयोजन पोखरा फेवा टेबुलटेनिस क्लब, प्रदेश नं. ४, कास्की, पोखराले गरेको छ भने प्रचारप्रसारको संयोजन दरबारथोक एड्भरटाईजिङ एजेन्सीले गरेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्ने सो प्रतियोगितामा तिन दिनसम्म पोखरामा वस्ने बाहिरी जिल्लाहरुका खेलाडी तथा अफिसियललाई भोजन र आवासको निशुल्क व्यवस्था मिलाइएको जानकारी आयोजकले दिएका थिए ।

Advertisment