विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप फुटबल मा सहभागी हुने नेपाली टिमलाई प्रधानमनत्री ओलीद्वारा बिदाइ

पोखरा वैशाख २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कोमा आयोजना हुने सडक बालबालिकाहरुको विश्वकप स्ट्रिट चाइल्ड वल्र्डकप फुटबल ‘द फ्यूचर डिपेन्ड्स अन यू’ मा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टिमलाई जितको शुभकामनासहित बिदाई गर्नुभयो ।

कार्यक्रममा नेपाली टिमलाई विश्वकपमा लैजान सक्रिय संस्था सेल्टर आश्रय नेपालसँगै विभिन्न प्रायोजकहरुको सहभागिता रहेको थियो । बिदाई कार्यक्रममा प्रधानमन्त्री ओलीले तयारीका बारेमा आफूलाई पूर्ण जानकारी नभए पनि नेपाली टिमले सफलता हात पार्ने विश्वास व्यक्त गर्नुभयो । ‘इमान्दारिता र आत्मविश्वास सफलताको पहिलो आधार हो । तपाईँहरु इमान्दार भएर खेल्नुहोस् ।’ प्रधानमन्त्री ओलीले खेलाडीलाई सुझाव दिनुभयो ।

यसैबीच टोलीमा थ्रि एन्जल्स बालगृहमा आश्रित सचिन विक र विशाल बादी गरी २ जना बालकहरु पनि समावेश रहेका छन् । विदाई कार्यक्रममा सहभागि हुन थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतम र प्रमुख कार्यकारी निर्देशक (सिईओ) डा राजेन्द्र गौतम पनि काठमाण्डौ पुग्नुभएको थियो । विदाई कार्यक्रमपछि प्रतिक्रिया दिँदै डा गौतममले थ्रि एन्जल्स नेपालको बालगृहमा आश्रित बालकहरु यति महत्वपूर्ण प्रतियोगितामा सहभागि हुन पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।

यस्तै अध्यक्ष शारदा खत्री गौतमले थ्रि एन्जल्स नेपालले सञ्चालन गरेको बालगृहमा आश्रित दुईजना बालकहरुले उत्कृष्ठ खेल प्रर्दशनमा सघाउ पुर्याउँदै राष्ट्रको शिर उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । संस्थाका कार्यक्रम निर्देशक डा मदन थापाले देशको गौरव बढाउने कार्यमा थ्रि एन्जल्स नेपालको पनि महत्वपूर्ण भूमिका रहन सकेकोमा गौरव लागेको बताउनुभयो ।

थ्रि एन्जल्स नेपाल सहित विभिन्न बालगृहबाट छनौटमा परेका ९ जना खेलाडीले रसियाको मस्कोमा नेपालको प्रतिनिधित्व गर्नेछन् । स्ट्रिट चाइल्ड युनाइटेडको आयोजनामा हुने प्रतियोगिता सेभेन ए साइडको आधारमा सञ्चालन हुनेछ । नेपाली टिम बुधबार मस्को प्रस्थान गर्नेछ ।

Advertisment