सिटी गाईड तालिमको प्रारम्भ

पोखरा २३ बैशाख । पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुको ऐतिहासिक र पुरातात्विक जानकारी गराउने सक्षम टुर गाईड उत्पादन गर्ने उद्देश्यले पोखरामा सिटी गाईड तालिमको सुरुवात भएको छ । १० दिनसम्म चल्ने उक्त तालिमको आयोजना नाट्टा पश्चिमाञ्चलले गरेको छ । त्यसैगरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले प्राविधिक सहयोग एवं नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा सञ्चालन भएको हो ।

तालिमको प्रारम्भ गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारीले तालिमले व्यक्तिमा दक्षता, गुणस्तरियता र प्रभावकारिता विकास गराउने भन्दै पर्यटकलाई गुणस्तरिय सेवा प्रदान गर्न तालिमले सहयोग पु¥याउने बताए । पर्यटकको लागि गाईड महत्वपूर्ण पक्ष भएकोले ऐतिहासिक र पुरातात्विक स्थानको प्रयाप्त जानकारी र व्याख्या गर्न सकेमा पर्यटकको वसाई लम्विने उनको धारणा रहेको छ ।

तालिममा ४७ जनाको सहभागिता रहेको छ भने सहभागिलाई नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका प्राचार्य कृष्ण खरेलले प्रशिक्षण गराउने आयोजकले जनाएको छ । कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले अहिलेसम्म पोखरामा सक्षम, दक्ष र अनुभवी सिटी गाईड नभएको सन्र्दभमा तालिमले उक्त अभावलाई पुरा गर्ने बताए । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी प्रमुख दुर्गादत्त ढकालले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवाहरमा उतार्न सकेमा पोखराको पर्यटनमा सहयोग पुग्ने बताए ।

नाट्टा पश्चिमाञ्चलका अध्यक्ष सन्तोष पोख्रेलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तालिम संयोजक तथा नाट्टा पश्चिमाञ्चलका सचिव कमला गिरीले स्वागत तथा उद्देश्यमाथी प्रकाश र महासचिव हरीराम अधिकारीले सञ्चाल गरेका थिए ।

Advertisment