मिलन फाउण्डेशनद्वारा बक्सिङ खेलाडीलाई किकप्याड तथा ५० हजार नगद सहयोग

वैशाख ।मिलन फाउण्डेशन नेपालले बक्सिङ खेलाडीलाई किकप्याड तथा ५० हजार रुपैयाँ नगद सहयोग गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष यामबहादुर गुरुङ र मोया थाई किक बक्सिङ नेपालका मुख्य प्रशिक्षक तथा कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदारलाई फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले बक्सिङ खेलाडीहरूको पोशाकका लागि ५० हजार नगद सहयोग हस्तान्तरण गर्नुभयो । त्यस्तै, सो अवसरमा बक्सिङ खेलाडीहरूलाई ६ थान किकप्याड समेत हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा बोल्दै फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले अहिले थोरै मात्र सहयोग गरिएको भएपनि भविष्यमा पनि आफूले सक्दो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रका लागि खेल्ने खेलाडीहरूलाई सम्मान गर्नुपर्ने आवश्यकता रहेको भन्दै समाजसेवी गुरुङले आर्थिक अभावमा आफ्नो खेल प्रतिभा अघि बढाउन नसकेकालाई आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समिति, कास्कीका अध्यक्ष एवं नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङले शिक्षा, स्वास्थ्य र खेलकुद तीनै क्षेत्रमा समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले दिएको योगदान अतुलनीय रहेको बताउनुभयो । त्यस्तै, मोया थाई किक बक्सिङ नेपालका मुख्य प्रशिक्षक तथा जिल्ला खेलकुद विकास समिति, कास्कीका कोषाध्यक्ष दीपक गोदारले समाजसेवी गुरुङको सहयोगले खेलाडीहरूलाई हौसला थप्ने भन्दै राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई सबै पक्षको साथ, समर्थन र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

Advertisment