मिलन फाउण्डेशनद्वारा संरक्षक गुरुङको बिदाइ

पोखरा।मिलन फाउण्डेशन नेपालले संरक्षक दुर्गा गुरुङ ‘मिलन’लाई बिदाइ गरेको छ । आफ्नो पाँच महिने नेपाल बसाइँ सकेर कर्मथलो हङकङ फर्कन लाग्नुभएका समाजसेवी गुरुङलाई बुधबार एक कार्यक्रमको आयोजना गरी सुखद यात्राको कामनासहित बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा बोल्दै फाउण्डेशनका संरक्षक गुरुङले पाँच महिनाको नेपाल बसाइँ अत्यन्त सुखद र उपलब्धीपूर्ण बनेको उल्लेख गर्नुभयो ।

फाउण्डेशन परिवारबाट आफूले आत्मीय साथ र सहयोग पाएको बताउँदै समाजसेवी गुरुङले फाउण्डेशनमार्फत् सामाजिक कार्यलाई अघि बढाउन आफ्नो सधैं साथ रहने प्रतिबद्धता जनाउनुभयो । आफूले कसैलाई एक पैसा नमागी आफैं पसिनाको कमाइ सामाजिक कार्यमा लगाउँदै आएको भन्दै गुरुङले समाजसेवा गर्न सोंचेजस्तो सजिलो नहुने बताउनुभयो ।

त्यस्तै, बाजुङ–पोखरा सम्पर्क समितिकी अध्यक्ष कृष्णकला केसीले समाजसेवी गुरुङको सुखद यात्राको कामना गर्दै सामाजिक कार्यमा गुरुङको योगदान नमुनायोग्य रहेको उल्लेख गर्नुभयो । तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङले दुर्गा गुरुङ ‘मिलन’जस्तो सामाजिक व्यक्तित्व देशकै लागि गौरव भएको भन्दै समाजसेवामा लाग्ने सबैले समाजसेवी गुरुङबाट सिक्नुपर्ने बताउनुभयो ।

फाउण्डेशनकी कार्यवाहक अध्यक्ष देवीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य रूद्रबहादुर श्रीसले गर्नुभएको थियो । सो अवसरमा आर्थिक संयोजक धनकुमारी गुरुङ, प्रचारप्रसार संयोजक मणिलाल गुरुङ, एलआईसी प्रतिनिधि राधा केसीलगायतले संरक्षक गुरुङलाई बिदाइ गर्नुभएको थियो । फाउण्डेशनका संरक्षक गुरुङ यही वैशाख २२ गते हङकङ प्रस्थान गर्दै हुनुहुन्छ ।

Advertisment