प्रतिनिधिसभा सांसद् सुवेदीद्वारा दलित विद्यार्थीको अभिभावकत्व ग्रहण

रूद्र श्रीसमगर, पोखरा, १३ वैशाख । नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधिसभाकी सांसद् यशोदा सुवेदी ‘प्रभा’ले दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।सरकारको विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत बिहीबार कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७, अर्चले, सुमिडाँडास्थित कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा दलित बालिका अंकिता सुनारलाई तीन कक्षामा भर्ना गरी शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको हो । सांसद् सुवेदीले कक्षा १२ सम्मको शिक्षा सम्पन्न गराउने गरी अभिभावकत्व ग्रहण गरेको घोषणा गर्नुभयो ।

दीपक सुनार र मञ्जु सुनारकी छोरी अंकिता आफ्नी आमा दोस्रो विवाह गरी गएपछि हाल हजुरआमा पार्वती सुनारको संरक्षकत्वमा रहेकी छिन् । उनका बाबु दीपकले मजदुरी गर्दै आएका छन् । अभिभावकत्व ग्रहण गर्दै सांसद् सुवेदीले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न यस अभियान थालिएको बताउनुभयो ।

सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानीको प्रतिफल पाउन नसकिरहेको भन्दै सांसद् सुवेदीले विद्यालय जाने उमेर पुगेका कसैले पनि निरक्षरताको बाटो समात्न नपरोस् भनेर सरकारले विद्यार्थी भर्ना राष्ट्रिय अभियानको सुरुवात गरेको बताउनुभयो । ‘आजको यो अभियान सुरुवात मात्र भएको छ’, उहाँले भन्नुभयो, ‘आगामी दश वर्षपछि प्रतिफल आउने हिसाबले अब काम गर्नु जरुरी छ ।’ आफूले आफ्नो राजनैतिक कर्मथलो भएकाले सो विद्यालयलाई रोजेको बताउँदै सामुदायिक विद्यालयमा घट्दै गएको आकर्षणलाई बढाउन यस अभियानले धेरथोर सघाउ पु¥याउने उल्लेख गर्नुभयो ।

विद्यालयको समस्याबारे भनाइ राख्दै प्रधानाध्यापक सूर्यबहादुर वाग्लेले स्थानीयबासीको चन्दा संकलन र नेताहरू गुहारेर जसोतसो विद्यालय सञ्चालन गरिएको बताउनुभयो । ‘हामीले स्थानीयबासीको चन्दा संकलनबाट जसोतसो विद्यालय धानेका छौं’, प्रधानाध्यापक वाग्लेले भन्नुभयो, ‘शिक्षक दरबन्दीको समस्या र अंग्रेजी माध्यममा पढाइ सुरु गरेपछि पाठ्यपुस्तक अभाव मुख्य समस्या रहेको छ ।’ पछिल्लो समय विद्यार्थीलाई खाजा उपलब्ध गराउन समेत नसकिएको प्रधानाध्यापक वाग्लेले बताउनुभयो ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७, वडा कमिटीको प्रस्तावमा सांसद् सुवेदीले विद्यार्थीलाई खाजा खुवाउँदा लाग्ने एक वर्षसम्मको खाजा खर्च उपलब्ध गराउने घोषणा गर्दै छ महिना बराबरको खाजा खर्च हस्तान्तरण समेत गर्नुभयो । प्रधानाध्यापक वाग्लेका अनुसार पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा हाल ३४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने चार जना शिक्षक कार्यरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७, वडा कमिटीका सचिव गोविन्द वाग्लेले पनि बोल्नुभएको थियो ।

Advertisment