बेपत्ता योद्धा पूर्ण पौडेलको खोज सभा सम्पन्न एकताका नाममा सम्पूर्ण कुरा त्याग्न सकिन्न ः रेग्मी

 

रूद्र श्रीसमगर, पोखरा, १३ वैशाख । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामराज रेग्मीले पार्टी एकताका नाममा सम्पूर्ण कुरा त्याग्न नसकिने बताउनुभएको छ ।माओवादी केन्द्र कास्कीद्वारा बिहीबार पोखरामा आयोजित बेपत्ता योद्धा अखिल (क्रान्तिकारी)का तत्कालिन महासचिव पूर्ण पौडेल ‘ज्वाला’को खोज सभामा बोल्दै नेता रेग्मीले पहिचान मेटेर एकता हुन नसक्ने जिकिर गर्नुभयो । ‘पार्टी एकतासँग संघर्ष जोडिएको छ, हामीले गर्ने एकता भनेको संघर्षका लागि हो’, नेता रेग्मीले भन्नुभयो, ‘एकताका नाममा सम्पूर्ण कुरा बलिदान गर्न सकिँदैन ।’

पार्टी एकता भएपछि बेपत्ता योद्धा दिवसलगायत अन्य शहीद, बेपत्ता योद्धा एवं घाइतेका नाममा मनाइने दिवसहरू के हुन्छन् ? भन्ने प्रश्न गर्दै नेता रेग्मीले पार्टीका नेताहरू धेरै पटक सरकारमा पुगे पनि बेपत्ता योद्धाको स्थिति सार्वजनिक हुन नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘हाम्रो पार्टी पटक पटक सरकारमा पुग्यो, तर, बेपत्ता योद्धा र शहीदका लागि ठोस काम गर्न सकेन’, नेता रेग्मीले भन्नुभयो, ‘यो हाम्रो ठूलो कमजोरी हो, अहिले पनि हाम्रै सरकार छ, बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्न पार्टी नेतृत्व गम्भीर बन्नुपर्दछ ।’

बेपत्ता छानविन आयोगलाई सक्रिय बनाउनुपर्ने बताउँदै नेता रेग्मीले प्रत्येक वर्ष बेपत्ता योद्धाको खोज सभा गरेर मात्रै नहुने उल्लेख गर्नुभयो । ‘अब प्रत्येक वर्ष बेपत्ता योद्धाको स्मरणमा खोज सभा गरेर मात्रै हुँदैन’, उहाँले भन्नुभयो, ‘अब एउटा निक्र्यौलमा पुग्नु जरुरी छ, राज्यले बेपत्ता योद्धाका सम्बन्धमा के गर्ने भन्ने ठोस योजना बन्नुपर्दछ ।’ विभाजित भएको माओवादी धारा एकै ठाउँमा केन्द्रीकरण गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेता रेग्मीले एमालेसँगको पार्टी एकताबाट चुनौतीहरू थपिँदै जान थालेको बताउनुभयो ।

बेपत्ता योद्धा पूर्ण पौडेल ‘ज्वाला’का दाजु केदार पौडेल र बहिनी एवं पूर्व सांसद् तेजकुमारी पौडेलले बेपत्ता योद्धाको अवस्था राज्यले तत्काल सार्वजनिक गर्नुपर्ने र त्यसमा पार्टी नेतृत्वले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रतिनिधिसभाकी सांसद् दुर्गा विकले पार्टी एकताका क्रममा दश वर्षे जनयुद्धका शहीद, बेपत्ता योद्धा र घाइते योद्धाहरूको भावनात्मक पक्षलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक बखानसिंह गुरुङ ‘आभाष’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–संयोजक गंगा पोखरेलले गर्नुभएको थियो । बेपत्ता योद्धा पूर्ण पौडेल ‘ज्वाला’लाई तत्कालिन सुरक्षाकर्मीले २०५९ साल बिहीबारकै दिन काठमाडौंको कालीमाटीबाट गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

Advertisment